साउन १०, एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा)मा अविश्वास प्रस्ताव पेस गरिएको छ। विपक्षी गठबन्धनका सांसदहरुले बुधबार अविश्वास प्रस्ताव पेस गरेका हुन्।
सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरुसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।
यद्यपि, विपक्षी सांसदहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए। विपक्षीहरुले बैठकमा हो–हल्ला गरेपछि संसदको कारबाही दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरुले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन।
किनकि भारतको संसदमा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ। तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसदमा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसदमा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।



