काठमाडौं : आर्थिक वर्ष २०८२/८३ का लागि हालसम्म २० वटा जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। कम्पनीहरूले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट बोनस शेयर र नगद लाभांश दिने प्रस्ताव गरेका हुन्। प्रस्तावित लाभांश सम्बन्धित कम्पनीको साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन्।
लाभांश घोषणा गर्ने कम्पनीमा युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर, विकास हाइड्रोपावर, साप्सु कालिका हाइड्रोपावर, माण्डु हाइड्रोपावर, आशुतोष इनर्जी, कावेली हाइड्रोपावर, हिलटन हाइड्रो इनर्जी, सुपर मादी हाइड्रोपावर, स्नो रिभर्स, विन्ध्यबासिनी हाइड्रोपावर, माउन्टेन इनर्जी, बरुण हाइड्रोपावर, सानिमा मिडिल तमोर, रिज लाइन इनर्जी, चम्पावती हाइड्रोपावर, सिक्लेस हाइड्रोपावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, सुपर हेवा पावर, मिड सोलु हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन्।
लाभांश घोषणा गरेका २० कम्पनीमध्ये ६ वटा कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छैनन्। यी कम्पनीले घोषणा गरेको लाभांश विवरण यस्तो छ :
साप्सु कालिका हाइड्रोपावर : ५ प्रतिशत नगद लाभांश।
आशुतोष इनर्जी : १८.९४७३ प्रतिशत नगद लाभांश।
कावेली हाइड्रोपावर : १६.३१५८ प्रतिशत नगद लाभांश।
हिलटन हाइड्रो इनर्जी : २० प्रतिशत नगद लाभांश।
चम्पावती हाइड्रोपावर : ४ प्रतिशत बोनस शेयर र १६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत।
सुपर हेवा पावर : ३.१५७९ प्रतिशत नगद लाभांश।
नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीको लाभांश विवरण यस प्रकार रहेको छ ।
१. माउन्टेन इनर्जीको सर्वाधिक लाभांश :
माउन्टेन इनर्जीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.०५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमध्ये २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६३ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
२. कुथेली बुखरी स्मल हाइड्रोपावर :
कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्तापुँजीको आधारमा कुल १८.९४७४ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद लाभांश समावेश छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको चुक्तापुँजी १४ करोड ७४ लाख ५९ हजार ६ सय ७५ रुपैयाँ रहेको छ ।
३. सुपर मादी हाइड्रोपावर :
सुपर मादी हाइड्रोपावरले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। बोनस शेयरको कर प्रयोजनका लागि थप ०.७८९४७ प्रतिशत नगद लाभांश दिने घोषणा पनि गरेको छ। कम्पनीले असोज १ गते आफ्नो साधारण सभा सम्पन्न गरिसकेको छ।
४. मिड सोलु हाइड्रोपावर :
मिड सोलु हाइड्रोपावरले चुक्तापुँजीको आधारमा कुल १५.७८९ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश रहेको छ। मिड सोलु हाइड्रोपावरको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ ।
५. सिक्लेस हाइड्रोपावर :
सिक्लेस हाइड्रोपावरले सञ्चित मुनाफाबाट कुल १३.३७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसमा १२.७०६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश समावेश छ।
६. माण्डु हाइड्रोपावर :
माण्डु हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले करसहित १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ।
७. रिज लाइन इनर्जी :
रिज लाइन इनर्जीले करसहित १०.५३ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इनर्जीले १२ करोड ४७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १७ गते पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा ललितपुरको कुपण्डोलस्थित कुपण्डोल ब्यांक्वेटमा बिहान १० बजे सुरु हुने जनाइएको छ।
८. विकास हाइड्रोपावर :
विकास हाइड्रोपावरले चुक्तापुँजीको आधारमा कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश समावेश छ। कम्पनीले ९ करोड ९ लाख १० हजार १३० रुपैयाँ बराबरको बोनस शेयर तथा ४७ लाख ८४ हजार ६ सय रुपैयाँ १४ पैसा बराबरको नगद लाभांश प्रस्ताव गरेको छ। विकास हाइड्रोपावरको चुक्तापुँजी ९० करोड ९१ लाख १ हजार ३ सय रुपैयाँ रहेको छ ।
९. स्नो रिभर्स :
स्नो रिभर्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले लाभांशसम्बन्धी प्रस्ताव पारित गर्न साधारण सभा सम्पन्न गरिसकेको छ।
१०. विन्ध्यबासिनी हाइड्रोपावर :
विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक १८ गते काठमाडौंको शंखमुलस्थित अनमोल ब्यांक्वेटमा दसौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ९:३० बजे सुरु हुने बताइएको छ।
११. बरुण हाइड्रोपावर :
बरुण हाइड्रोपावरले चुक्तापुँजीको आधारमा कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बरुण हाइड्रोपावरको चुक्तापुँजी १ अर्ब १२ करोड २५ लाख ३२ हजार ४ सय २५ रुपैयाँ रहेको छ ।
१२.युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर :
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट वितरण गर्ने प्रस्ताव गरिएको हो।
१३. अरुण भ्याली हाइड्रोपावर :
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नाफा तथा सञ्चित मुनाफाबाट
चुक्तापुँजीको कुल ५.२६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ।
१४. सानिमा मिडिल तमोर :
सानिमा मिडिल तमोर हाइड्रोपावरले वितरणयोग्य सञ्चित मुनाफाबाट करसहित ५.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले असोज ३० गते ११ औँ वार्षिक साधारण सभा बोलाएको थियो।