२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनपीएलमा कर्णालीका बलर चम्किए, जनकपुर १९ रनले पराजित

images

  • २०८३ कात्तिक १०, मंगलबार
  • 136
    SHARES
  • एनपीएलमा कर्णालीका बलर चम्किए, जनकपुर १९ रनले पराजित

    काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा १ सय १३ रनमै समेटिएपछि कर्णालीले १९ रनको जित निकालेको हो।

    जनकपुरको ब्याटिङ ध्वस्त पार्न कर्णालीका युनिस ठकुरी र हुसेन तलतले उत्कृष्ट बलिङ गरे जसमा दुवैले समान ३ विकेट लिए भने नन्दन यादवले २ विकेट तथा कप्तान सोमपाल कामीले १ विकेट हात पारे।

    जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए। कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रनको योगदान दिए। जिम्मी निशमले १५, मायन यादवले १४ र अनिलकुमार शाहले ११ रन बनाए। कुशल परेवा ६ रनमा आउट भए भने तृतराज दासले १ रन जोडे।

    ललित राजवंशी १ रनमा आउट हुँदा राहुल यादव १ रनमा अविजित रहे। आदित्य मेहता भने खाता नखोली पभेलियन फर्किए।

    युनिस ठकुरीले आफ्नो स्पेलमा ४ ओभर बलिङ गर्दै १ मेडनसहित ३ विकेट लिए। उनले एउटै ओभरमा जनकपुरका कप्तान हर्मीत सिंह र जिम्मी निशमलाई आउट गरेपछि खेलमा कर्णालीको पकड बलियो बनेको थियो।

    अरिफुल इस्लामको उत्कृष्ट ब्याटिङ

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। टोलीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलको सामना गर्दै ४ चौका प्रहार गरे।

    कर्णालीले इनिङ्सको सुरुवात राम्रो गर्न सकेन। पहिलो ओभरको अन्तिम बलमा मार्क वाट १ रन बनाएर आउट भए। त्यसपछि दीपक डुम्रे १३ रनमा पभेलियन फर्किए। जनकपुरका लागि डेब्यु गरेका राहुल यादवले आफ्नो पहिलो बलमै विकेट लिँदै डुम्रेलाई आउट गरेका थिए।

    कर्णालीले ३७ रन जोड्दा हुसेन तलतलाई ३ रनमा गुमायो। त्यसपछि अरिफुल इस्लाम र पवन सर्राफले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे।

    अरिफुल ४३ रन बनाएर आउट भए भने पवनले ३७ बलमा ३७ रन जोडे। त्यसपछिका ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा कर्णालीको स्कोर १३२ रनमा सीमित भयो। अक्बर अली र कप्तान सोमपाल कामीले समान १ रन बनाए। गुल्सन झाले १२ तथा नन्दन यादवले ९ रनको योगदान दिए। युवराज खत्री र युनिस ठकुरी अविजित रहे।

    हर्मीत सिंहको तीन विकेट

    जनकपुरका कप्तान हर्मीत सिंहले बलिङमा प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिए। मोइन अली र राहुल यादवले समान २ विकेट हात पारे भने ललित राजवंशीले १ विकेट लिए। यद्यपि, टोलीले ब्याटिङमा लक्ष्य भेट्टाउन सकेन।

    यस जितसँगै कर्णाली याक्सले एनपीएलको नयाँ सिजनमा आफ्नो अभियान सफलतापूर्वक सुरु गरेको छ। जनकपुर भने पहिलो खेलमै हार बेहोर्न बाध्य भयो। एनपीएलअन्तर्गत मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरु हुने तालिका छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ