काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन जोडेको हो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान दिए। उनले २९ बलको सामना गर्दै चार चौका प्रहार गरे। पवन सर्राफले ३७ रन बनाए भने गुल्सन झाले १२ रन जोडे।
कर्णालीको सुरुवात भने राम्रो हुन सकेन। टोलीले चार रनमै पहिलो विकेट गुमाएको थियो। त्यसपछि १८ रन पुग्दा दोस्रो विकेट गुमाएको कर्णालीलाई जनकपुरका बलरले दबाबमा राखे। डेब्यु खेल खेलिरहेका जनकपुरका राहुल यादवले दीपक डुम्रेलाई १३ रनमा आउट गर्दै आफ्नो प्रभाव देखाए।
३७ रनमा तेस्रो विकेट गुमाएपछि अरिफुल इस्लाम र पवन सर्राफले इनिङ्स सम्हाल्ने प्रयास गरे। यी दुई ब्याटरले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै टोलीलाई केही राहत दिलाए। तर, दुवै खेलाडी आउट भएपछि कर्णालीको रन गति फेरि सुस्त बन्यो।
कर्णालीका अक्बर अलीले एक, कप्तान सोमपाल कामीले एक र नन्दन यादवले नौ रन बनाए। युवराज खत्री र युनिश ठकुरी नटआउट रहे।
जनकपुरको बलिङमा कप्तान हरमित सिंहले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। राहुल यादव र मोइन अलीले समान दुई विकेट हात पारे भने ललित राजवंशीले एक विकेट लिए। जनकपुरका बलरले नियमित अन्तरालमा विकेट लिँदै कर्णालीलाई ठूलो योगफल बनाउनबाट रोके।
अब जनकपुर बोल्ट्सले जितका लागि १३३ रन बनाउनुपर्नेछ।
सूचना विभाग दर्ता नं : ४०६१/७९/८०
तारकेश्वर, काठमाडौँ
सम्पर्क : 01-5912805/4975805
समाचार इमेल : satkarkhabar@gmail.com
इमेल : mkt.satkarkhabar@gmail.com