काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको तेस्रो खेलमा आज बिहीबार नेपालले विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग सामना गर्दैछ। नेपाल र वेस्ट इन्डिजबीचको खेल टाकासिंगा स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ। नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक खेल्न लागेको हो।
यसअघि नेपालले टी ट्वान्टी तथा एकदिवसीय फम्र्याटमा वेस्ट इन्डिजसँग खेलेको थिएन। वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो।
असार ३ मा भएको नेपाल र जिम्बावेबीचको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो। असार ५ मा भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
छनाेट प्रतियाेगितामा आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको थियो भने नेपाल जिम्बावेसँग पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको थियो। लगातार दोस्रो जितसँगै जिम्बावे ४ अङ्कसहित समूह 'ए' काे तालिकाको शीर्ष स्थानमा छ भने समान २/२ अङ्क भएका वेस्ट इन्डिज दोस्रो र नेपाल तेस्रो स्थानमा छन्। लगातार दोस्रो हार बेहोरेको अमेरिका चौथो र १ खेल खेलेको नेदरल्यान्ड्स अन्तिममा छ।
नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग असार ९ मा खेल्नेछ।
विश्वकप छनोटमा नेपालको खेल
विश्वकप छनोटमा सहभागी १० टिम २ समूहमा विभाजित छन्। समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे,अमेरिका,वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा आयरल्यान्ड,श्रीलंका,यूएई,ओमान र स्कटल्यान्ड छन्।
समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान सिधै विश्वकपका लागि छनोट भईसकेका छन्।



