काठमाडौं : नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरिएको जानकारी दिएको हो।
सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गरेबापत विभिन्न प्रकारका सवारीसाधनबाट फरक–फरक शुल्क लिइनेछ।
निर्धारित दरअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस लगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। त्यसैगरी, मिनी बस तथा मिनी टिपर वा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ।
बस तथा ट्रकले सुरुङमार्ग प्रयोग गरी काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तिर्नुपर्नेछ भने काठमाडौं बाहिरिने क्रममा २०० रुपैयाँ शुल्क लाग्नेछ। भारी सवारीसाधनतर्फ मल्टी एक्सल ट्रक तथा अन्य भारी उपकरणले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ सडक उपभोग दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
सवारीसाधनअनुसार नागढुंगा सुरुङमार्गको शुल्क
-
वर्ग १: कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधन — काठमाडौं प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ।
-
वर्ग २: मिनी बस, मिनी टिपर तथा मिनी ट्रक — काठमाडौं प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा ८० रुपैयाँ।
-
वर्ग ३: बस तथा ट्रक — काठमाडौं प्रवेश २६० रुपैयाँ, बाहिरिँदा २०० रुपैयाँ।
-
वर्ग ४: मल्टी एक्सल ट्रक तथा भारी उपकरण — काठमाडौं प्रवेश ६०० रुपैयाँ, बाहिरिँदा २५० रुपैयाँ।
कात्तिक १५ गतेदेखि लागू हुने यो व्यवस्थाअनुसार नागढुंगा सुरुङमार्ग हुँदै यात्रा गर्ने चालक तथा सवारीधनीले आफ्नो सवारीसाधनको वर्गअनुसार लाग्ने शुल्कबारे जानकारी लिएर यात्रा योजना बनाउन सक्नेछन्।




