२०८३, कात्तिक ११ गते

Oct 28 2026

Logo
  • २०८३ कात्तिक ११, बुधबार
  • (Oct 28, 2026)
images

३ महिनामै साढे ४ अर्बको धानचामल आयात, असोजमा मात्रै भित्रियो १ अर्बभन्दा बढीको

images

  • २०८३ कात्तिक ११, बुधबार
  • 126
    SHARES
  • ३ महिनामै साढे ४ अर्बको धानचामल आयात, असोजमा मात्रै भित्रियो १ अर्बभन्दा बढीको

    काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको धान, चामल, कनिका तथा धानको बिउ आयात गरेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्म कुल ५ करोड ६८ लाख ९३ हजार १ सय २० किलो अर्थात् करिब ५६ हजार ८ सय ९३ टन धानचामलजन्य वस्तु नेपाल भित्रिएको हो।

    उक्त परिमाणको आयातमा नेपालबाट ४ अर्ब ४८ करोड ८३ लाख ६१ हजार रुपैयाँ बाहिरिएको छ। तथ्यांकले पहिलो त्रैमासमा खाद्यान्न आयातको ठूलो हिस्सा चामल र कच्चा धानले ओगटेको देखाउँछ।

    असोजमा बढ्यो धानचामलको आयात

    भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा मात्रै ४ करोड ५५ लाख ४३ हजार ९ सय ५६ किलो धानचामलजन्य वस्तु आयात भएको थियो। उक्त आयातको मूल्य ३ अर्ब ३७ करोड ७७ लाख ७५ हजार रुपैयाँ थियो।

    तर असोज महिनामा थप १ करोड १३ लाख ४९ हजार १६४ किलो अर्थात् करिब ११ हजार ३ सय ४९ टन धानचामलजन्य वस्तु आयात भएको छ। यसको मूल्य १ अर्ब ११ करोड ५ लाख ८६ हजार रुपैयाँ रहेको छ।

    यसले पहिलो दुई महिनाको तुलनामा असोजमा आयात उल्लेख्य रूपमा बढेको देखाउँछ।

    सबैभन्दा धेरै अन्य चामल र कच्चा धान आयात

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा परिमाणका आधारमा सबैभन्दा धेरै अन्य चामल आयात भएको छ। यस अवधिमा २ करोड ३० लाख ७४ हजार ४२८ किलो अन्य चामल नेपाल भित्रिएको छ। यसको मूल्य १ अर्ब ६४ करोड ५९ लाख ३२ हजार रुपैयाँ रहेको छ।

    त्यस्तै, १ करोड ८७ लाख १८ हजार ६ सय ६० किलो कच्चा धान आयात भएको छ। उक्त धान खरिदमा ८४ करोड ६१ लाख ४५ हजार रुपैयाँ खर्च भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

    बासमती चामलमा बाहिरियो झन्डै २ अर्ब

    परिमाणका हिसाबले तेस्रो स्थानमा रहेको बासमती चामल आयातमा भने सबैभन्दा धेरै रकम खर्च भएको छ। साउनदेखि असोजसम्म नेपालले १ करोड ४४ लाख ४९ हजार ४५६ किलो बासमती चामल आयात गरेको छ।

    यसका लागि १ अर्ब ९६ करोड ८५ लाख ५९ हजार रुपैयाँ बाहिरिएको छ। यसले बासमती चामलको आयात मूल्य अन्य प्रमुख चामलजन्य वस्तुको तुलनामा उच्च रहेको देखाउँछ।

    यसैगरी, सोही अवधिमा ६ लाख ४९ हजार ६६० किलो कनिका आयात भएको छ। यसको मूल्य २ करोड ७१ लाख ९ हजार रुपैयाँ रहेको छ। ब्राउन राइस भने ८४९ किलो आयात भएको छ, जसको मूल्य १ लाख १५ हजार रुपैयाँ छ।

    धानको बिउ आयात न्यून

    पहिलो त्रैमासमा सबैभन्दा कम परिमाणमा धानको बिउ आयात भएको छ। चीन र भारतबाट गरी जम्मा ६७ किलो धानको बिउ नेपाल भित्रिएको छ। यसको मूल्य ५ लाख १ हजार रुपैयाँ रहेको छ।

    नेपालमा धानचामलको आयात मुख्यतः भारतबाट हुने गरेको छ। यद्यपि, इटाली, पोल्यान्ड, भियतनाम, थाइल्यान्ड र चीनबाट समेत थोरै परिमाणमा धानचामलजन्य वस्तु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ