काठमाडौँ : आज बुधबार नेपाली शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। अघिल्लो कारोबार दिन सामान्य अवस्थामा रहेको नेप्से परिसूचक यस दिन ३३.२९ अंकले बढेर २ हजार ६ सय ६४ दशमलव ६ विन्दुमा बन्द भएको हो। आज सेन्सेटिभ इण्डेक्स ६.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३९ अंकले उकालो लागेको छ।
यस्तै, आज बुधबार शेयर बजारमा कुल ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँबराबरको कारोबार भएको छ भने हिजो मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज कारोबार रकम उल्लेख्य रूपमा बढेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ३ सय ४८ वटा कम्पनीको ६३ हजार ७ सय ४४ पटकको कारोबारबाट १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्। आज बुधबार नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये १२ वटाको परिसूचक वृद्धि भएको छ भने व्यापार उपसमूह सामान्य अंकले घटेको छ।
बुधबारको बजारमा बेनी हाइड्रोपावरको शेयरमूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ५ सय ३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने बजारमा अधिकांश कम्पनीको शेयरमूल्य बढ्दा घट्ने कम्पनीहरूको गिरावट भने ३ प्रतिशतभन्दा कममा सीमित रहेको छ।
आज बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी पहिलो स्थानमा रहेको छ। कम्पनीको ३२ करोड ५० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। यसैगरी, घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। बुटवल पावर कम्पनीको कारोबार रकम पनि करिब २६ करोड ५० लाख रुपैयाँ पुगेको छ।