२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लुम्बिनीमा चार दिनमै ७८ विपद्का घटना, ६ जनाको मृत्यु

images

  • २०८३ असोज १२, सोमबार
  • 231
    SHARES
  • लुम्बिनीमा चार दिनमै ७८ विपद्का घटना, ६ जनाको मृत्यु

    बुटवल : असोज ८ देखि ११ गतेसम्मको चार दिनमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ७८ वटा विपद्का घटना घटेका छन्। प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र (PEOC) का अनुसार यी प्राकृतिक विपद्‌मा परी ६ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

    लगातारको वर्षा, पहिरो र डुबानका कारण प्रदेशभरका १ हजार २ सय ८० जना सर्वसाधारण विस्थापित भई सुरक्षित स्थानमा सरेका छन्। विपद्का कारण २७ घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ५६ घरमा आंशिक क्षति पुगेको छ। यसै गरी १६ घर डुबानमा परेका छन् र १ सय ७० घर अझै उच्च जोखिममा छन्।

    पहिरो र डुबानले धेरै असर : 

    चार दिनको अवधिमा सबैभन्दा बढी पहिरोका ३१ वटा घटना दर्ता भएका छन्। पहिरोमै परेर ५ जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्। पहिरोकै कारण ४ सय ८० जना विस्थापित हुन पुगेका छन्। पहिरोले १० घर पूर्ण र ८ घर आंशिक रूपमा क्षति पुर्‍याउनुका साथै १ सय घर जोखिममा पारेको छ।

    त्यस्तै, डुबानका २६ वटा घटना भएका छन्। डुबान प्रभावित क्षेत्रका ७ सय ७८ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको छ। डुबानबाट ९ घर पूर्ण र १३ घर आंशिक रूपमा भत्किएका छन् भने ७० घर जोखिममा परेका छन्।

    यस बाहेक १३ वटा हावाहुरी र ७ वटा बाढीका घटना भएका छन्। हावाहुरीका कारण एक जनाको मृत्यु हुनुका साथै १ घर पूर्ण र ३५ घर आंशिक रूपमा क्षति भएका छन्। बाढीका कारण २२ जना विस्थापित भएका छन् भने ७ घर पूर्ण रूपमा नष्ट भएका छन्।

    पाल्पामा सबैभन्दा बढी मानवीय क्षति, नवलपरासीमा धेरै विस्थापित :

    जिल्लागत हिसाबले सबैभन्दा धेरै घटना अर्घाखाँचीमा १५, बाँकेमा १३ र गुल्मीमा १० वटा फुटेका छन्।

    मानवीय क्षतिको दृष्टिले पाल्पा सबैभन्दा बढी प्रभावित बनेको छ। पाल्पामा पहिरोमा परी ५ जनाको मृत्यु र १ जना घाइते भएका हुन्। रोल्पामा भने हावाहुरीका कारण १ जनाको ज्यान गएको छ।

    विस्थापनका आधारमा नवलपरासी सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ ७ सय जना सुरक्षित स्थानमा सरेका छन्। त्यसैगरी गुल्मीका २ सय ९८ र अर्घाखाँचीका १ सय ७१ जना विस्थापित भएका छन्।

    भौतिक तथा आर्थिक नोक्सानी :

    प्रारम्भिक विवरण अनुसार प्रदेशभर कुल ४० लाख १७ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। यसमा दाङमा मात्रै २२ लाख १० हजार रुपैयाँको क्षति पुगेको छ। नवलपरासीमा ५ लाख ६० हजार र बर्दियामा ५ लाख ५७ हजार रुपैयाँ नोक्सानी भएको छ।

    घरबाहेक अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको छ:

    • गोठ र चौपाया : ६ वटा गोठ पूर्ण र ४ वटा आंशिक क्षति भएका छन् भने ७५ वटा पशुचौपाया मरेका/हराएका छन्।

    • पुल र विद्यालय : दाङ, गुल्मी र रुकुम पूर्वमा १/१ वटा पुलमा क्षति पुगेको छ। दाङ, रुकुम पूर्व र रूपन्देहीमा १/१ वटा विद्यालय भवन क्षतिग्रस्त भएका छन्।

    • उद्योग र कार्यालय : बाँकेमा २ तथा नवलपरासी, अर्घाखाँची, रुकुम पूर्व र रूपन्देहीमा १/१ वटा उद्योगमा क्षति पुगेको छ। अर्घाखाँची, नवलपरासी, दाङ र पाल्पाका सरकारी कार्यालयहरूमा समेत क्षति पुगेको छ भने पाल्पामा २ वटा सवारी साधन ठोक्किएर/पुरिएर नष्ट भएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ