२३ असार, काठमाडौं : मकवानपुरको मनहरी गाउँपालिकामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु र २ जना घाइते भएका छन्। २ वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा ट्रकमा रहेका ५ जनामध्ये ३ जनाको ज्यान गएको र २ जना घाइते भएको प्रहरीले जानकारी दिनुभयो।
३ जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ। ठक्करबाट गम्भीर घाइते भएका २ जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिनुभयो। मृत्यु हुनेमा ना ६ ख ६६६७ नंको ट्रक चालक चितवन राप्ति नगरपालिका ८ का रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका २ का सुमन चेपाङ र ना ६ ख ६३१ नंको ट्रक सहचालक मकवानपुर मनहरी गाउँपालिका ३ का अमृत प्रजा रहेको छन्। घाइते हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रकमा सवार चितवनका राप्ति नगरपालिका ३ का बिबेक तामाङ र ना ६ ख ६३१ नम्बरको ट्रकका चालक मकवानपुर मनहरी गाउँपालिका ३ का अर्जुनकुमार प्रजा रहेको छन्।
आज बिहान २ बजे मकवानपुरको मनहरी गाउँपालिका ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।उक्त आगलागी नियन्त्रणमा ल्याउन हेटौंडाबाट २ वटा दमकल परिचालन भएको थियो तर ट्रक भने पूर्ण क्षति भएको छ।



