२२ असार, काठमाडौं : १३ जुलाई देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेटको लागि क्यानले १६ सदस्य टिमको घोषणा गरेको छ।
रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ जसमा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले टिममा स्थान बनाएका छन्। यस्तै, टिममा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुल्सन झा, सोमपाल कामी, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो रहेका छन्।
नेपालले एसीसी प्रिमियर कपको उपाधि विजेताको रुपमा इमर्जिङ कप खेल्न लागेको हो। उक्त प्रतियोगिताको उपविजेता युएई तथा तेस्रो भएको ओमान इमर्जिङ कप खेल्दै छन्। इमर्जिङ टिम्स एसिया कप ५ टेष्ट राष्ट्रसँगै एसीसी प्रिमियर कपको शीर्ष ३ टोली नेपाल, यूएई र ओमानले खेल्नेछन्। इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ। इमर्जिङ कपको समूह बी मा नेपाल, युएई, पाकिस्तान ए र भारत ए छन् भने समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन्।
यस्तै, नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ भने दोस्रो खेल जुलाई १७ मा भारत ए सँग र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ।



