काठमाडौं :पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी पुनर्स्थापित गरिएको छ। सोमबार बिहान २ बजे निकालिएको जलहरी बुधबार ११ घन्टा लगाएर पुनर्स्थापित गरिएको हो ।
सुनको परिमाणमा गडबडी भएको उजुरी परेको दुई वर्षपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगकका कर्मचारी जलहरीको तौल नाप्न आइतबार पशुपति पुगेका थिए।
सुनको जलहरी हाल्नकै लागि बुधबार दिउँसैदेखि भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको थियो। मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। पशुपतिमा नियमित आरतीबाहेक अरू पूजाअर्चना पनि भएको थिएन।
आइतबार अख्तियारले पुरातत्व, गुणस्तर तथा नापतौल विभाग, सुन चाँदी व्यवसायी महासंघ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधिसहित २७ जनाको रोहवरमा पशुपतिको शिवलिङबाट २०७८ फागुनमा राखिएको सुनको जलहरी निकालेर नापजाँच गरेको थियो।
गर्भगृहबाट सुनका ३ वटा रिङ, बासुकी नाग १, जलधारा १, जलहरी ३, नाग ३ सहित ११ पाता सुन निकालेर तौलिएको थियो। यसको तौल १०६.४३२५ किलो रहेको बताइएको छ।
त्यस्तै प्रयोगमा नआएको भनिएको सुनका २७ थान किला, पाता १, तार ७, ५ थान टुक्रा पनि नापजाँच भएको थियो। र, त्यसको परिमाण १.०३५७५ किलो रहेको बताइएको छ। यो सबै परिमाण जोड्दा १०७.४६८२५ किलो हुन्छ। अख्तियारले सुनको परिमाण पुगेको नपुगेकोबारे खुलाएको छैन।



