काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी भएर स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको राहत, पुनर्लाभ तथा पुनर्निर्माणका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ।
परराष्ट्रमन्त्री खनालको सचिवालयका अनुसार पछिल्लो घोषणासँगै नेपालको बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले प्रतिबद्धता जनाएको कुल सहायता २६ मिलियन अस्ट्रेलियन डलर पुगेको छ। यसअघि अस्ट्रेलियाले खोज तथा उद्धार सामग्री, प्राविधिक विशेषज्ञ र ११ मिलियन अस्ट्रेलियन डलर मानवीय सहायता उपलब्ध गराएको थियो।
स्वदेश फर्किएपछि मन्त्री खनालले भ्रमणले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्न, न्यायोचित जलवायु वित्त परिचालनका लागि पैरवी गर्न तथा अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको बताए।
जलवायु न्यायका लागि नेपालको प्राथमिकता प्रस्तुत
आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप–३१) का लागि राजनीतिक सहमति निर्माण तथा विश्वव्यापी जलवायु एजेन्डालाई अघि बढाउने उद्देश्यले मन्त्री खनालले अस्ट्रेलिया, फिजी र टुभालुको भ्रमण गरेका थिए।
अक्टोबर ६ मा फिजीको नाडीमा आयोजित ‘प्रि–कोप लिडर्स प्लेनरी’ लाई सम्बोधन गर्दै उनले हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूले जलवायु परिवर्तनका कारण समान प्रकृतिका जोखिम सामना गरिरहेको बताए।
हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएको उल्लेख गर्दै उनले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
सम्बोधनका क्रममा मन्त्री खनालले भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीलाई ‘हिमाली सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनमा न्यून योगदान रहेका नेपालजस्ता मुलुकले यसको गम्भीर असर भोग्नुपरेको बताए।
कोप–३१ का लागि नेपालका चार प्राथमिकता प्रस्तुत गर्दै उनले विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी विकासमा जोड दिए।
टुभालुमा जलवायु अनुकूलनका संरचनाको अवलोकन
टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान र तीव्र ज्वारभाटाको जोखिममा रहेको फुनाफुतीस्थित ‘कजवे’ क्षेत्र तथा टुभालु कोस्टल एडाप्टेसन प्रोजेक्टअन्तर्गत निर्माण गरिएका संरचनाको अवलोकन गरेका थिए।
हिमाली क्षेत्रको जलवायु जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूले सामना गरिरहेका चुनौतीबीच समानता पहिचान गर्न तथा जलवायु न्यायका पक्षमा साझा आवाज निर्माण गर्न भ्रमणले सहयोग पुगेको उनले बताए।
‘प्रि–कोप’ कार्यक्रमका अवसरमा जारी ‘टाकु पाकासोआ घोषणापत्र’ मा हिमनदी तथा हिमचादरको क्षयसम्बन्धी विषय समावेश भएको पनि उनले जानकारी दिए।
अस्ट्रेलियासँग जलवायु सहकार्य र विद्यार्थी भिसाबारे छलफल
अक्टोबर ८ मा मेलबर्नस्थित कमनवेल्थ पार्लियामेन्ट कार्यालयमा अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँग भएको द्विपक्षीय वार्तामा नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध पक्षमा छलफल भएको थियो।
वार्ताका क्रममा विदेशमन्त्री वोङले नेपालको बाढी विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अस्ट्रेलिया सरकार र जनताको ऐक्यबद्धता प्रकट गरेकी थिइन्।
बैठकमा जलवायु सहकार्य, हिमनदी अनुगमन, पूर्वसूचना प्रणालीको आधुनिकीकरण र जलवायु अनुकूलित पूर्वाधार निर्माणमा प्राविधिक साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको थियो।
मन्त्री खनालले नेपाली विद्यार्थीका लागि अस्ट्रेलियाको विद्यार्थी भिसा प्रक्रिया निष्पक्ष, सहज र अनुमानयोग्य बनाउन आग्रह गरेका थिए। साथै, प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालयबीच संयुक्त अनुसन्धान, संयुक्त डिग्री कार्यक्रम र अस्ट्रेलिया अवार्ड्स छात्रवृत्तिको कोटा वृद्धि गर्न सहकार्यको प्रस्ताव राखेका थिए।
विपद् व्यवस्थापन र हवाई सम्पर्क विस्तारबारे छलफल
मन्त्री खनालले अक्टोबर ८ मै सिड्नीमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग भेटवार्ता गरेका थिए। भेटमा नेपालको बाढी विपद्प्रति समवेदना र ऐक्यबद्धता व्यक्त गरेकोमा उनले धन्यवाद दिएका थिए।
न्यु साउथ वेल्सले बाढी, डढेलो व्यवस्थापन र पुनर्निर्माणमा हासिल गरेको अनुभवबाट नेपालले सिक्न सक्ने विषयमा छलफल भएको थियो। दुवै पक्षले विपद् व्यवस्थापनसम्बन्धी निकायबीच अध्ययन भ्रमण तथा प्राविधिक आदानप्रदानको सम्भावनाबारे पनि विचारविमर्श गरेका थिए।
सिड्नीको वेस्टर्न सिड्नी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालसँग सिधा हवाई सम्पर्क विस्तार गर्ने सम्भावना तथा नेपाली समुदायको भाषा, संस्कृति र सामुदायिक केन्द्रलाई सहयोग गर्ने विषयमा समेत छलफल भएको थियो।
यसै क्रममा मन्त्री खनालले अस्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनसँग क्यानबेरामा भेटवार्ता गरेका थिए।