कात्तिक १५, काठमाडौं : आईसीसी एक दिवसीय विश्वकप २०२३ बाट बंगलादेश बाहिरिएको छ। गएराति सम्पन्न खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएपछि बंगलादेश लिग चरणबाटै बाहिरिने पहिलो देश भएको छ।
तेस्रो जित हात पारेको पाकिस्तानले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। जीतपछि ७ खेलबाट ६ अंक बटुल्दै पाकिस्तान अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ भने बंगलादेश २ अंकसहित नवौँ स्थानमा छ।
कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको थियो। बङ्गलादेशका लागि महमदुल्लाहले सर्वाधिक ५६ रन बनाएका थिए। यस्तै, लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रन बनाएका थिए।
बलिङमा पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिएका थिए।
बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ८१ रन र अब्दुल्लाह शफिक ६८ रन बनाएका थिए।
बलिङमा बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिएका थिए।



