२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
एनपीएल सिजन ३

एनपीएल सिजन ३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

images

  • २०८३ कात्तिक ९, सोमबार
  • 196
    SHARES
  • एनपीएल सिजन ३ आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।

    निर्धारित तालिकाअनुसार यी दुई टोलीबीचको खेल आज अपराह्न ४ः३० बजे सुरु हुनेछ । प्रतियोगिताका सबै खेल हिमालय स्पोर्ट्स (हिमालय टिभी) बाट प्रत्यक्ष प्रसारण गरिनेछ ।

    आठ टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा

    तेस्रो संस्करणमा अघिल्ला संस्करणकै आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन् ।

    प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ । त्यसपछि इलिमिनेटर र क्वालिफायर चरण हुँदै फाइनल खेलबाट च्याम्पियनको टुंगो लाग्नेछ । प्रतियोगिताको फाइनल मंसिर ५ गते हुने तालिका छ ।

    विजेतालाई एक करोड ५० लाख रुपैयाँ पुरस्कार

    यसपटक एनपीएलको पुरस्कार राशि बढाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ८० लाख रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    अघिल्लो संस्करणमा लुम्बिनी लायन्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यतिबेला विजेता टोलीले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।

    नेपालमै पहिलोपटक डीआरएस प्रविधि

    तेस्रो एनपीएलको अर्को प्रमुख विशेषता डिसिजन रिभ्यु सिस्टम (डीआरएस) को प्रयोग हो । नेपाली क्रिकेटमा पहिलोपटक प्रतियोगितास्तरमा यो प्रविधि प्रयोग गर्न लागिएको हो ।

    मैदानमा रहेका अम्पायरको निर्णयमा शंका वा असहमति भएमा टोलीले निर्धारित नियमअनुसार डीआरएसको सहायता लिन सक्नेछन् । एलबीडब्ल्यू, रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल र वाइडसम्बन्धी निर्णयको पुनरावलोकनमा प्रविधि प्रयोग गरिनेछ । छक्काको दूरी र उचाइ मापनमा पनि प्रविधिको सहायता लिइनेछ ।

    नियमअनुसार प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा रिभ्यु लिन पाउने व्यवस्था गरिएको छ ।

    विदेशी स्टार खेलाडीको आकर्षण

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मान्यता प्राप्त यस संस्करणमा विभिन्न देशका चर्चित खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ । अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन् । वेस्ट इन्डिजका आन्द्रे रसेल तथा श्रीलंकाका एन्जेलो म्याथ्युज र चरिथ असलंका विराटनगर किङ्ससँग आबद्ध छन् ।

    सुदूरपश्चिम रोयल्समा सेरफान रदरफोर्ड र फेबियन एलेन रहेका छन् भने पोखरा एभेन्जर्समा बंगलादेशका महेदी हसन र मोहम्मद सैफुद्दिनजस्ता खेलाडीको सहभागिता रहनेछ । कर्णाली याक्सले दक्षिण अफ्रिकाका डेभिड मिलर, पाकिस्तानका हुसैन तलात र शाहबजाद फरहानलगायत खेलाडीलाई टोलीमा समेटेको छ । लुम्बिनी लायन्समा पनि विदेशी खेलाडीको सहभागिता रहनेछ ।

    यसका अतिरिक्त पाकिस्तानका मोहम्मद नवाज, हैदर अली, हसन अली र इफ्तिखार अहमद, इंग्ल्यान्डका मोइन अली, जिम्बाबेका सिकन्दर राजा तथा अन्य अन्तर्राष्ट्रिय खेलाडीको उपस्थितिले एनपीएलमा प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ