काठमाडौँ : आईसीसी टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले टी-२० विश्वकप खेल्न जाने टोलीका लागि बिदाइ कार्यक्रमको आयोजना गरेको हो।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहित सहभागी थिए।
कार्यक्रममा राष्ट्रिय टिमका पूर्व खेलाडीहरूसहित बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पनि आएका थिए। उनी मुद्दाकै कारण विश्वकप खेल्ने टोलीमा परेका छैनन्।
क्यानले गएको बुधबार मात्र टी-२० विश्वकप खेल्न नेपाली टोलीको घोषणा गरेको थियो। टी-२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।



