असोज २,काठमाडौं : पहिराको कारण बैतडीका २ विद्यालय भवन जोखिममा परेका छन्। दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन्।
विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिनुभयो। पहिराका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो।
उहाँले भन्नुभयो, “पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ। विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ।”विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ।
विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ।
कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन्। यस्तै, जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको २ कोठे भवन पहिराको जोखिममा परेको छ।
उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो। कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा १ सय ५० विद्यार्थी अध्ययनरत छन्।
सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन
सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको ह । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताउनुभयो।
सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन। सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ। मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताउनुभयो।
अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताउनुभयो। उहाँले भन्नुभयो, “अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ। पानी परिरहेकाले केही ढिलाइ भएको छ। छिट्टै समस्या समाधान हुन्छ ।”रासस



