काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर नियमअनुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीहरूबाट रकम असुलउपर गर्ने प्रक्रियालाई तीव्र बनाएको छ। त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत रहेको कर्मचारी प्रशासन महाशाखाका अनुसार विभिन्न ७५ वटा प्रकरणबाट हालसम्म करिब १६ करोड ५० लाख रुपैयाँ असुली भइसकेको छ।
बिदा अवधिमा विश्वविद्यालयबाट लिएको तलब, भत्ता र अन्य सेवा-सुविधाहरू नियमानुसार हर्जानासहित असुल गर्ने कार्य भइरहेको त्रिविले जनाएको छ। अध्ययन बिदापछि सेवामै नफर्किएका वा फर्किएर पनि तोकिएको न्यूनतम अवधि पूरा नगरेकाहरूलाई यस कारबाहीको दायरामा ल्याइएको हो।
महाशाखाका अनुसार अन्य थप प्रकरणहरूको पनि अभिलेख खोजी गरी हिसाबकिताब निकाल्ने काम जारी छ। हालसम्म प्रारम्भिक हिसाब निकालिएका विषयहरूमा करिब २१ करोड ५० लाख रुपैयाँ बराबरको दायित्व देखिएको छ।
यस क्रममा सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीहरूको व्यक्तिगत फाइल अध्ययन गर्ने र बुझाउनुपर्ने रकमको यकिन गरी असुलउपर गर्ने प्रक्रिया अघि बढाइएको छ। त्रिविले अध्ययन बिदाको नियम उल्लङ्घन गरेका आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई आगामी पुस मसान्तभित्र अनिवार्य रूपमा रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ। इच्छुक व्यक्तिले studyleave@tu.edu.np मा इमेलमार्फत पनि सम्पर्क गर्न सक्नेछन्।
तोकिएको समयावधिभित्र सम्पर्कमा नआएमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र प्रचलित नियमअनुसार कडा कानुनी कारबाही अघि बढाउने चेतावनी त्रिविले दिएको छ।