काठमाडौँ : राष्ट्रिय सतर्कता केन्द्रले सञ्चालन गरेको अनुगमनका क्रममा अनुशासन तथा आचारसंहिता पालना नगर्ने ११ हजार ४ जना सरकारी कर्मचारी कारबाहीमा परेका छन्। केन्द्रले चैतदेखि साउनसम्मको चार महिनाको अवधिमा देशका विभिन्न ९ सय २४ सरकारी कार्यालयहरूमा गरेको छड्के अनुगमनका क्रममा उक्त विवरण सार्वजनिक भएको हो।
केन्द्रको प्रतिवेदन अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा ठूलो सङ्ख्या कार्यालय समय र आचारसंहिता पालना नगर्नेहरूको रहेको छ।
कारबाहीको विवरण :
आचारसंहिता तथा समय पालना नगर्ने : १० हजार २ सय ६८ जना
तोकिएको पोसाक नलगाउने : ६ सय ४५ जना
समयमा कार्यकक्षमा नभेटिएका : ९१ जना
अनुशासन उल्लङ्घन गर्ने सम्पूर्ण कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन सतर्कता केन्द्रले सम्बन्धित निकाय तथा विभागीय प्रमुखहरूलाई कडा निर्देशन दिएको छ।
यसै अवधिमा केन्द्रमा दर्ता भएका १ हजार २ सय ९८ वटा उजुरीमध्ये १ हजार १ सय १४ वटा (८५.८२ प्रतिशत) उजुरी फर्छ्यौट भइसकेको सतर्कता केन्द्रले जनाएको छ। सरकारी सेवालाई नागरिकमैत्री, पारदर्शी र अनुशासित बनाउन आगामी दिनमा डिजिटल प्रविधि र एआईको समेत प्रयोग गरी अनुगमन थप कडा बनाइने केन्द्रको तयारी छ।