साउन ३२,काठमाडौं: सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ ।बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउनु भएको छ ।
क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उहाँको भनाई छ । लम्पीस्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको र चैतदेखि हालसम्म ४७ हजार ६४९ पशु मरेको जानकारी दिँदै उहाँले एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताउनु भयो ।
तान्जानिया, टर्की र जोर्डनबाट लम्पीस्किनबिरुद्धको भ्याक्सिन आयात गरेको बताउदै उहाँले अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आएको र ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको जानकारी दिनु भयो ।



