२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा ७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित

images

  • २०८३ असोज २१, बुधबार
  • 186
    SHARES
  • नेपालमा ७४ जिल्लामा फैलियो स्क्रब टाइफस, १० हजारभन्दा बढी संक्रमित

    काठमाडौं : नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। सन् २०२६ सुरु भएयता देशभर १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक छ।

    ईडीसीडीमा स्क्रब टाइफससँग सम्बन्धित २२ जनाको मृत्यु रिपोर्ट भए पनि हालसम्म ७ जनाको मृत्यु यही संक्रमणका कारण भएको पुष्टि भएको छ। बाँकी १५ जनाको मृत्युको कारणबारे थप अध्ययन भइरहेको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले बताएका छन्।

    स्वास्थ्य अधिकारीका अनुसार स्क्रब टाइफस नेपालमा हरेक वर्ष देखिने संक्रमण हो। यसअघि पनि वर्षमा ७ देखि ११ हजारसम्म संक्रमित हुने गरेका थिए। तर यसपटक सल्यानलगायतका जिल्लामा मृत्युका घटना देखिएपछि जोखिमबारे चासो बढेको हो।

    प्रदेशगत रूपमा लुम्बिनीमा सबैभन्दा धेरै २ हजार ७७९ जनामा संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिममा १ हजार ९४७, गण्डकीमा १ हजार ८६४, बागमतीमा १ हजार २२६, कोशीमा १ हजार १३२, कर्णालीमा ७२९ र मधेशमा २४६ संक्रमित भेटिएका छन्।

    दाङ, सल्यान, बझाङ, स्याङ्जा, बर्दिया, पाल्पा र संखुवासभालगायत जिल्लामा संक्रमण बढी देखिएको छ।

    उपचारमा ढिलाइ गर्दा ज्यान जाने जोखिम

    स्क्रब टाइफस ओरिएन्सिया सुसुगामुसी नामक ब्याक्टेरियाबाट हुने संक्रमण हो। संक्रमित माइटले टोकेपछि मानिसमा यो रोग सर्छ। माइट प्रायः झाडी, घाँसपात, खेतबारी र वनजंगल आसपास पाइन्छ।

    स्वास्थ्य अधिकारीहरूका अनुसार समयमै उपचार पाए स्क्रब टाइफस निको हुन्छ। तर उपचारमा ढिलाइ हुँदा संक्रमणले शरीरका विभिन्न अंगमा असर पुर्‍याएर मल्टी अर्गन डिसफङ्क्सनसम्म गराउन सक्छ। यस्तो अवस्थामा मृत्युको जोखिम बढ्छ।

    सल्यानमा भएका मृत्युका घटनाको प्रारम्भिक अध्ययनमा बिरामी स्वास्थ्य संस्था पुग्न ढिला गरेको पाइएको डा. दाहालले बताएका छन्।

    वर्षायामपछि किन बढ्छ संक्रमण ?

    वर्षायामपछि वातावरणमा चिस्यान र आर्द्रता बढ्नु, घाँसपात बाक्लिनु तथा मानिसको खेतबारी र जंगलसँग सम्पर्क बढ्नुले माइटको सक्रियता बढ्ने गर्छ।

    संक्रमित मुसाको सम्पर्कमा आएको माइटले मानिसलाई टोकेपछि स्क्रब टाइफस सर्न सक्छ। मकै तथा अन्य कृषि उपज भित्र्याउने समयमा खेतबारीमा मानिसको आवतजावत बढ्ने भएकाले पनि संक्रमणको जोखिम बढ्ने स्वास्थ्य अधिकारीहरू बताउँछन्।

    यस्ता लक्षण देखिए तत्काल जाँच गराउनुस्

    स्क्रब टाइफस हुँदा उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, अत्यधिक पसिना आउने, भोक कम लाग्ने, आँखा रातो हुने, खोकी, झाडापखाला तथा निमोनियाजस्ता समस्या देखिन सक्छन्।

    माइटले टोकेको ठाउँमा रातो दाग वा डाबर देखिनु र पछि कालो दाग बस्नु पनि यसको महत्वपूर्ण संकेत हुन सक्छ।

    ईडीसीडीले ज्वरो आएपछि घरमै बसेर औषधि खानेभन्दा तत्काल स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ।

    स्क्रब टाइफसबाट कसरी बच्ने ?

    खेतबारी, जंगल वा झाडीमा जाँदा शरीर ढाक्ने कपडा र सम्भव भएसम्म बुट लगाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। घाँस वा चौरमा बस्दा गुन्द्री वा दरी प्रयोग गर्न तथा सकेसम्म सिधै जमिनमा नबस्न पनि आग्रह गरिएको छ।

    घर वरपर झाडी, घाँस र फोहोर जम्न नदिने तथा खाद्यान्न सुरक्षित रूपमा भण्डारण गरेर मुसाको नियन्त्रण गर्न सके संक्रमणको जोखिम घटाउन सकिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ