साउन १४,काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताउनु भएको छ। नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा पौडेलले यस्तो बताउनु भएको हो।
सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने भन्दै गहिराइमा गएर अनुसन्धान हुनुपर्ने उहाँको भनाई छ। ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ?उहाँले भन्नु भयो, ‘भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ।’
भ्रष्टाचारविरुद्ध पार्टीले आक्रामक ढंगले आवाज नउठाए जनताले साथ नदिने उहाँले बताउनु भयो। संघीयता खर्चिलो र बोझिलो भएको भन्दै उहाँले केन्द्रदेखि प्रदेशसम्मका सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने समेत बताउनु भयो।‘



