साउन १३,काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताउनु भएको हो।
पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडा अध्यक्षको उम्मेदवार हो भन्ने गरेकोमा आपत्ति जनाउनु भएको छ। सभापति लामिछानेले रास्वपा साधारण समयमा बनेको पार्टी नभएको भन्दै रास्वपा कसैलाई पोस्न, पाल्न बनेको पार्टी नभएको बताउनु भयो।
उहाँले नराम्रो काम गर्ने पार्टीका नेताहरूलाई तत्काल कारबाही गर्ने स्पष्ट पार्नु भयो। लामिछानेले भन्नु भयो, ‘मिसन ०८४ भनेको सही नेतृत्व छान्न सकियो भने मात्रै सम्भव हुने हो, नारा त यो देशमा सबैले लगाउँछन्, नारा ठिक भएर भएन पारा ठिक हुनुपर्छ । पारा ठिक हुनका लागि हामीसँग राम्रा मान्छे जोडिनुपर्छ। यो दौड होइन, जो दौडेर पदमा पहिला बस्यो उसैले उम्मेदवारी पाइहाल्यो। रास्वपा अन्य पार्टीको हुलमा पार्टी नपुगेर जन्मिएको पार्टी होइन।’



