साउन ११,काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा छानबिन गर्न राज्यले सम्पूर्ण हिसाबले सहयोग गर्ने बताउनु भएको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै अर्थमन्त्री महतले यस्तो बताउनु भएको हो।
सुन प्रकरणपछि केहि कर्मचारीलाई निलम्बन गरिसकेको भन्दै अनुसन्धान समितिलाई स्वतन्त्र रुपमा काम गर्न दिने र राज्यले सहयोग गर्ने उहाँको भनाई छ। उहाँले सुन प्रकरणमा मेसिन वा मानविय कमजोरी हो भन्ने छानबिन समितिले पत्ता लगाउने दावी गर्नु भयो।
मन्त्री महतले भन्सार कार्यालयमा अनाधिकृत व्यक्ति प्रवेशमा रोक लगाउन निर्देशन दिएको जानकारी दिनु भयो। उहाँले अपराध गर्ने व्यक्तिहरुले नयाँ–नयाँ प्रविधिहरु प्रयोग गर्न सक्ने भएकाले भन्सारमा रहेका प्रविधिहरुलाई पनि समयानुकुल परिवर्तन गर्दै जानुपर्ने धारणा राख्नु भयो।
उहाँले बिमानस्थलमा रहेका राज्यका विभिन्न निकायसँग छलफल गर्दै सुधारका विषयमा पनि छलफल भएको र राज्यका सबैको समन्वयकारी भूमिकाले नै विमानस्थलमा हुने गैर कानुनी गतिविधिहरु कम भएर जाने बताउनु भयो।



