साउन ८, काठमाडौं : अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन बरामद प्रकरणमा विभागले प्रहरीको सहयोग मागेको हो।
राजश्व अनुसन्धान विभागले सुन प्रकरणको छानबिनका लागि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाउने निर्णय गरेको उच्च सरकारी स्रोतले जनाएको छ।
पंगेनी यसअघि उपत्यकाभित्र हुने गम्भीर प्रकृतिका अपराध अनुसन्धान गर्ने निकाय उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरिसकेका अधिकृत हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागले एक क्वीन्टल सुन बरामद गरेपछि त्यसबारे बुझ्न आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थल भन्सार कार्यालय पुग्नु भएको थियो।
त्यसक्रममा उहाँले राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी लगायतसँग छलफल गरेका थिए। त्यसपछि विभागले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्राचार गरेर सहयोग मागेको स्रोतको भनाइ छ।
मंगलबार हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्स मार्फत आएको कम्तिमा १०० किलो सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।



