साउन ४,काठमाडौं : राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउन नहुने बताउनु भएको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेता गौतमले यस्तो बताउनु भएको हो । नेपाल एकीकरणमा सेनाको भूमिका महत्वपूर्ण रहेको भन्दै अपमान हुने काम कसैबाट गर्न नहुने उहाँको भनाई छ । राज्यका चारवटा अंगमध्ये एउटा मात्रै कमजोर भयो भने दुर्घटना व्यहोर्नुभन्दा अरू केही नहुने उहाँले बताउनु भयो ।
गौतमले सेनाको संख्या हाल करिब ९६ हजार रहेको र यसलाई बढाएर दुई लाख पुर्याउनुपर्ने प्रस्ताव अघि सारनु भएको छ । नेता गौतमले सेनाको संख्या बढाएर देश निर्माणका लागि औद्योगिक र कृषि निर्माणको क्षेत्रमा लगाउनुपर्नेमा जोड दिनु भयो ।
नेपाली सेनाले हरेक ठाउँमा आफूलाई ऐतिहासिक रुपमा स्थापित गर्दै आएको उहाँको भनाइ छ। अप्ठ्यारो पर्दा नेपाल र नेपाली जनताको रक्षाका लागि सेनाको साथ रहेको भन्दै नेता गौतमले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सेनाको अहम भूमिका रहेकोउहाँले बताउनु भयो ।



