साउन ४,काठमाडौं :अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खोटाङमा किबी र लिचीको उत्पादन वृद्धि भएको छ। दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो।
जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ। आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव ५ मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिएका दिनु भयो।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको याम्खा, सप्तेश्वर छितापोखरी, छितापोखरी, टेम्मा, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, लिकुवापोखरी, वाप्लुखा, सवाकटहरे, बड्कादियाले, सिमपानीमा किबी खेती गरिन्छ।
जन्तेढुङ्गा गाउँपालिकाको बोपुङ, चिसापानी, बराहपोखरी गाउँपालिकाको सुन्तले, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, जलेश्वरी, महेश्वरी, केपिलासगढी गाउँपालिकाको फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर र रावाबेँसी गाउँपालिकाको हौँचुरका किसानले व्यावसायिक रुपमा किबी खेती गरेका छन्।



