काठमाडौं : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनु भयो। सरदर प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिएका थिए।
त्यो कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘उहाँ (प्रितम सिंह) राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचाटी दिल्ली पनि जानुभयो। काठमाडौंमा पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो। यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेर संसद बैठक अवरुद्ध गर्दै आएको छ।



