काठमाडौं : आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा आज समूह ‘बी’ का दुई वटा खेल हुने भएको छ । आज आयरल्यान्ड र यूएई जिम्बावेको बुलाबायो स्पोर्टस् क्लबमा दिउँसो पौने १ बजे खेल्ने भएका हुन् । यो खेलमा हार्ने टोलीसँग नेपालले प्लेअफ खेल्नेछ ।
सुपर सिक्समा पुग्न असफल नेपाल समूह ‘ए’ मा चौथो हुँदै प्लेअफमा पुगेको छ । समूह ‘ए’ को अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रह्यो । नेपालले समूह ‘बी’ को पुछारको टोलीसँग आउँदो जुलाई २ तारिखमा खेल्नेछ ।
यो प्लेअफ खेलमा नेपाल विजयी भएमा सातौँ स्थानको लागि र पराजित भएमा नवौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । प्लेअफबाट ७ देखि १०औँ स्थानको निर्धारण हुनेछ । आजको अर्को खेलमा श्रीलङ्का र स्कटल्यान्ड खेल्दैछन् ।



