काठमाडौं :नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका २ जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेख (जिम्मा जमानी)मा रिहा भएका छन्।
अख्तियारले टंक गुरुङ र नेपाल प्रहरीकी नायव निरीक्षक (सई) लक्ष्मी महर्जनलाई साधारण तारेखमा रिहा गरेको हो। यो ठगी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा चलेको थियो भने १८ जना पक्राउ परेका थिए।
पक्राउ परेका १८ जनामध्ये २ जना टंक र लक्ष्मीलाई जिल्ला अदालत काठमाडौंका न्याययाधीश प्रेमराज न्यौपानेको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। बोलाएको बखत उपस्थित हुनेगरी उनीहरुलाई रिहा गरिएको हो। लक्ष्मी ५ लाख र टंक १० लाख धरौटी तिरेर रिहा भएका थिए। त्यसपछि उनीहरु दुबै जनालाई प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा पठाएको थियो।
यो ठगी प्रकरणमा २८ करोड रूपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा चलाइएको थियो। जसमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना अभियुक्तहरु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्।



