काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको सीमानाको सुरक्षाको लागि सरकार संवेदनशील रहेको बताउनु भएको छ। शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो।
उहाँले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हीतको रक्षाको लागि पनि सरकार सम्वेदनशील र प्रयत्नशील रहेको बताउनु भयो।
अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा स्तम्भहरुको नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको उहाँको भनाई छ ।
त्यस्तै, बोर्डर आउटपोष्टहरुको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले बताउनु भयो ।



