काठमाडौं:- चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका–२९ स्थित खहरे खोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् । उनीहरूलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए ।
भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुवात गरेका थिए । उनले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको हो ।
आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरे खोलाको पानी आएपछि निकै खुसी भएको बताइन् ।
स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताइन् । उनले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताइन् ।
विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरु भएको थियो । त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए ।



