काठमाडौं : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। आइतबार सुरुवाती समयमा सेयर ब्रोकरको कार्यालय नै बन्द गराएर कारोबार रोकेको थियो। यस दिन अर्थमन्त्रालयमा भएको लगानीकर्तासँगको वार्तामा सरकारले हाल कायम रहेको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने निर्णय गरेसँगै नेप्से परिसूचक बढेको हो।
आइतबार नेप्से परिसूचक ५३.०३ अंकले वृद्धि हुँदा १९१९.३७ विन्दुमा बन्द भएको छ । नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक सर्वाधिक ७.३७ प्रतिशतले वृद्धि भएको छ । यस्तै, निर्जीवन बीमा उपसूचक ४.५४ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इण्डेक्स ९.४९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक बढेको छ।
यस दिन २७० कम्पनीको ३१ हजार २५२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ बराबरको ४५ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १५ करोड ८२ लाखको कारोबार हुँदा सोल्टी होटलको सेयर ८ करोड १३ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावरको सेयर ६ करोड ५५ लाखको कारोबार भएको छ।
आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.८७ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य ९.८० प्रतिशतले बढेको छ । यता स्वाभिमान लघुवित्तको सेयरमूल्य ०.९५ प्रतिशतले गिरावट हुँदा मानुषी लघुवित्तको सेयरमूल्य ०.१६ प्रतिशत र एनआईसी एशिया बैंकको सेयरमूल्य ०.१३ प्रतिशतले गिरावट भएको छ ।



