काठमाडौं :चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको छ। संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आंकलन गर्नु भएको हो । सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेको थियो।
चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म ८ खर्ब २३ अर्ब खर्च भएको छ।
पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ। हालसम्म एक खर्ब ३६ अर्ब रूपैयाँ मात्रै खर्च गरिएको छ।
वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ३० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ३ अर्ब रूपैयाँ मात्रै खर्च हुने अनुमान गरिएको छ। हालसम्म एक खर्ब ४१ अर्ब रूपैयाँ खर्च भएको छ। उहाँले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताउनु भयो।
संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उहाँले रूस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको दाबी गर्नु भयो। उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको उहाँको भनाई छ।



