काठमाडौं : आइतबार सेयर बजार नेप्सेमा दोहारो अंकले घटेको छ। यसअघि लगातार ७ कारोबार दिनसम्म नेप्से बढेको थियो । आइतबार दिनभर हरियो रहेको नेप्से कारोबार बन्द हुने भन्दा करिब १ घण्टा अगाडिदेखि लगातार ओरालो लागेर १७.३८ अंकले घट्दा १९४१.७४ विन्दुमा बन्द भएको छ।
उत्पादनमूलक उपसूचक १.०१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ। यता होटल तथा पर्यटन उपसूचक २.७७ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक २.६५ प्रतिशत, वित्त कम्पनी उपसूचक २.४२ प्रतिशत र विकास बैंक उपसूचक २.०५ प्रतिशतले गिरावट भएका छन् ।
नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर साढे २ अर्ब नाघेको छ । नेप्सेमा आइतबार साढे ३ महिना यताकै उच्च रकमको कारोबार भएको छ । २९ माघमा ३ अर्ब माथिको कारोबार भएपछि आइतबार त्यसयताकै उच्च रकमको कारोबार भएको हो ।
आइतबार नेप्सेमा ४७ हजार ६७४ वटा कारोबारमा ७० लाख ५० हजार ०.३९ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ६३ करोड ९७ लाखको कारोकार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २१ करोड ८० लाखको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ९ करोड १३ लाख र सोल्टी होटलको ८ करोड ८७ लाखको कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । ४४ कम्पनीको सेयरमूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । आइतबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्रको सेयरमूल्य बढेर सकारात्न्मक सर्किट मूल्यमा बन्द हुँदा युनिलिभर नेपालको सेयरमूल्य ७.१८ प्रतिशतले बढेको छ ।



