काठमाडौँ : वर्तमान नेपाली अर्थतन्त्र एकैपटक आन्तरिक संरचनात्मक कमजोरी, नीतिगत बिफलता र बाह्य भू-राजनीतिक झट्काको गम्भीर चेपुवामा परेको छ। सडकमा भइरहेका आन्दोलन, बारम्बार हुने सत्ता फेरबदल पछिको यो अन्योलपूर्ण स्थिरता र नीतिगत तालमेलको अभावका कारण उद्योगी, व्यवसायी र सर्वसाधारण नागरिकमा चरम निराशा छाएको छ, जसले देशको समग्र आर्थिक भविष्यलाई थप अनिश्चित र जोखिमपूर्ण बनाइदिएको छ।
अहिले बैंकहरूमा खर्बौं रुपैयाँ लगानीयोग्य रकम थुप्रिएर ब्याजदर निकै तल ओर्लिएको भए तापनि बजारमा वस्तु र सेवाको माग नहुँदा आर्थिक गतिविधि ठप्प जस्तै बनेका छन्। उपभोक्ताको क्रयशक्ति घट्नु र भविष्यप्रतिको डरले गर्दा बजारमा चहलपहल हुन सकेको छैन भने अर्कोतर्फ खराब कर्जा बढ्ने डरले बैंकहरू र नयाँ लगानी डुब्ने डरले व्यवसायीहरू दुवै पर्ख र हेरको अवस्थामा छन्।
अर्थतन्त्रको ऐना मानिने पुँजीबजार लामो समयदेखि निराशाको चक्रमा फसेको छ। आम लगानीकर्ताहरूको मनोबल नराम्रोसँग खस्किएको छ। नीतिगत अस्थिरता, नियामक निकायका कसिलो र अस्पष्ट नीतिका कारण नेप्से सूचकहरूले बजारको वास्तविक लाचारी झल्काइरहेका छन्। पुँजीबजारमा देखिएको यो गिरावटले लाखौं सर्वसाधारण लगानीकर्ताको सम्पत्ति मात्रै डुबाएको छैन, देशमा लगानीको वातावरण नै सुरक्षित छैन भन्ने नकारात्मक सन्देश अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको छ।हिजो सरकार बाहिर बसेर चर्का आलोचना तथा रुपान्तरणका उपाय सिकाउनेहरु आज सरकारको असफलताको मूकदर्शक मात्रै बनेका छन।
हालै बनेको नयाँ सरकारले १०० दिन बिताउँदै गर्दा बजार र जनताको विश्वास जित्न नसक्नु देशमा नीतिगत तदर्थवाद हाबी भएको छ, जसले गर्दा सकारात्मक आर्थिक रुपान्तरणका अभ्यासलाई सहि दिशा दिन नसकेको स्पष्ट देख्न सकिन्छ। उत्पादनशील क्षेत्रमा लगानी परिचालन नहुनु, देशको अर्थतन्त्र केवल रेमिट्यान्समा मात्रै निर्भर रहँदा व्यापार घाटा चुलिँदो छ र आन्तरिक रोजगारीका अवसरहरू पूर्ण रूपमा सुकेका छन्। दुई ठूला छिमेकी राष्ट्रहरूको भू- राजनीतिक चासो र अन्तर्राष्ट्रिय बजारको उतारचढावले नेपालको आपूर्ति श्रृङ्खला र वैदेशिक लगानीलाई थप संकुचित बनाइदिएको छ।
अर्थतन्त्रको ८० प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्र अहिले सरकारसँग पूर्ण रूपमा झस्किएको छ। कर आतंक, नीतिगत अस्थिरता, र कर्मचारीतन्त्रको ढिलासुस्तीले गर्दा नयाँ लगानी ठप्प छ। सरकारले व्यवसायीहरूलाई चोर वा ठगको नजरले हेर्ने र लोकप्रियताबाद उन्मूख छवि बनाउन पक्राउ गर्ने छोड्ने जस्ता धरपकड रणनीति अपनाउँदा व्यवसायिक वातावरण ध्वस्त भएको छ। राज्य र निजी क्षेत्र साझेदार हुनुपर्नेमा दुई शत्रु जस्ता देखिएका छन्।
पुरानालाई खराब, हामी राम्रो भन्ने राम्राले पनि राम्रो के गरे त भनेर खोज्दै गर्दा महसुस गर्न सकिने राम्रो केहि नदेखिनुले राजनीतिक दलगत स्वार्थभन्दा माथि उठेर दीर्घकालीन आर्थिक-सामाजिक मुद्धालाई सम्बोधन गर्दै अर्थतन्त्र यो गम्भीर दुष्चक्रबाट बाहिर निस्कन असक्षम छन कि भन्ने आशंका गर्न बाध्य बनाएको छ।
लोकप्रियताको न्यानो खोल मात्रै ओड्ने कि ? ७ प्रतिशत को महत्त्वाकांक्षी आर्थिक वृद्धिको लक्ष्यलाई यथार्तमा बदल्ने गतिविधिमा सरकारले गति बढाउने भन्ने निर्णय लिनु पर्ने समय आएको छ। वर्तमान आर्थिक संकट केवल केन्द्रीय बैंकको मौद्रिक नीति वा सरकारको विस्तारकारी वित्त नीतिको कागजी दस्तवेजले मात्र समाधान हुने प्रकृतिको छैन।
यो कुनै एउटा क्षेत्रको समस्या नभएर सिंगो प्रणालीकै भरोसाको संकटको अवस्था हो। तसर्थ, यस दलदलबाट बाहिर निस्कन सतही टालटुल होइन, बरु राजनीतिक नेतृत्वमा दह्रो इच्छाशक्ति र आर्थिक सुधारको एउटा स्पष्ट एवं साहसिक खाका आवश्यक छ।अब सरकारमा लोकप्रियताबादको बाछिटा पर्नु हुँदैन।संकटलाई निकासमा बदल्न अबको मार्गचित्र निम्न तीनवटा खम्बामा केन्द्रित हुनुपर्छ :
१. नीतिगत विश्वसनीयता र भरोसाको पुनरुत्थान
सरकारले सर्वप्रथम निजी क्षेत्र, आम उपभोक्ता र लगानीकर्तामाझ गुमेको आफ्नो विश्वसनीयता पुनर्स्थापित गर्नुपर्छ। राज्यले निजी क्षेत्रलाई अपराधी होइन, समृद्धिको सच्चा साझेदारका रूपमा व्यवहार गरि नीतिगत सुनिश्चितता मार्फत बजारमा लुकेर बसेको पुँजी बाहिर ल्याई आर्थिक गतिविधि चलायमान बनाउने बाटो पहिल्याउनु पर्छ। नीतिगत स्थिरताको वैधानिक ग्यारेन्टी गरि आजको लगानी भोलिको मुनाफा हो भन्ने भाष्य सिर्जना गर्दै व्यवसायिक विश्वास तथा उद्यमीलाई हौसला दिन जरुरी छ।
२. पुँजीगत खर्चमा गति र बजारमा आर्थिक रक्तसञ्चार
सरकारले परम्परागत ढिलासुस्तीलाई त्यागेर पुँजीगत खर्चलाई पहिलो त्रैमासिकदेखि नै आक्रामक रूपमा बढाउनुपर्छ। राष्ट्रिय गौरवका आयोजना र पूर्वाधार निर्माणमा देखिएका गाँठोहरू फुकाउँदै निर्माण व्यवसायीहरूको भुक्तानी तत्काल फर्स्यौट गरिनुपर्छ। सरकारले गर्ने खर्चले बजारमा Multiplier Effect सिर्जना गर्छ। निर्माण क्षेत्र ब्युँतिने बित्तिकै साना र मझौला उद्योगहरू सक्रिय हुन्छन्, जसले उपभोक्ताको क्रयशक्ति बढाउँछ र बजारको मागलाई स्वतः बढाउँछ। यसका साथै व्यवसायिक विश्वास बढ्दा बैंकिङ क्षेत्रको तरलता परिचालित भई आर्थिक गतिविधि चलायमान हुन्छ।त्यस्तै नीतिगत स्पष्टता र स्थिरताले पुँजीबजारले पनि गियर परिवर्तन गर्ने छ।
३. उपभोगमुखी आयात दुष्चक्र बाट रेमिट्यान्सको उत्पादनमुखी अर्थतन्त्रमा जोड
राष्ट्र बैकको पछिल्लो तथ्याङ्क हेर्दा आयात १४.८ प्रतिशतले बढेको छ त्यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपयाँमा ४१.२ प्रतिशतले बढेको छ। ७ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने कुल विदेशी विनिमय सञ्चितीको लक्ष्य राखिएकोमा १९.२ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने बलियो विदेशी विनिमय सञ्चितीको अबस्था देख्न सकिन्छ।यो बलियो वाह्य क्षेत्र सूचक अर्थतन्त्रका लागि सकारात्मक अवसर हो, तर यसरी भित्रिएको रेमिट्यान्स र विदेशी मुद्रा केवल विलासिताका सामान आयात गर्ने उपभोगमुखी दुष्चक्रमा मात्रै सीमित हुनु हुँदैन।
तसर्थ, बैंकहरूमा थुप्रिएको यस अभूतपूर्व तरलता र विदेशी मुद्रा सञ्चितिलाई विशेष सहुलियतपुर्ण उद्यमशीलता कर्जा, तथा अन्य आकर्षक लगानीका औजारहरू जस्तै: वैदेशिक रोजगार ऋणपत्र वा उत्पादनमूलक पूर्वाधार कोष मार्फत आन्तरिक उत्पादन, जलविद्युत, कृषि र औद्योगिकीकरणको क्षेत्रमा परिचालन गरी अर्थतन्त्रलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानु आजको मुख्य चुनौती र आवश्यकता हो।
अन्तमा, वर्तमान आर्थिक शिथिलता केवल सरकार प्रतिको अविश्वास, मौद्रिक नीति तथा वित्त नीतिको प्राविधिक असफलता मात्र होइन, यो सिंगो राज्य संयन्त्रप्रतिको भरोसाको संकट हो। हामीसँग पर्याप्त विदेशी मुद्रा सञ्चिती र लगानीयोग्य पुँजी हुनुले अर्थतन्त्रको बाह्य जग बलियो छ भन्ने देखाउँछ; अभाव केवल दृढ राजनीतिक इच्छाशक्ति र सही दिशाबोधको मात्र हो। अब सरकारले पक्राउ र धरपकडको रणनीति त्यागेर निजी क्षेत्रलाई देश विकासको प्रमुख इन्जिनको रुपमा स्वीकार गर्नुपर्छ।
अर्थतन्त्रलाई उपभोगमुखी दुष्चक्रबाट उत्पादनमुखी मार्गमा डोर्याउन माथि उल्लेखित तीनवटा खम्बाहरूमा टेकेर तत्काल काम थाल्नुपर्ने बेला आइसकेको छ। राजनीतिक नेतृत्वले लोकप्रियताको सस्तो नाराभन्दा माथि उठेर आर्थिक एजेन्डालाई राष्ट्रिय प्राथमिकताको पहिलो नम्बरमा नराख्ने हो भने, परिवर्तनका ठूला-ठूला गफ र सपनाहरू केवल कागजमै सीमित हुनेछन्। लोकप्रियता जोगाएको सान र मानलाई पुन: विद्रोहको आँधीले उजाड बनाउनेकी सान र मानको गरिमालाई निरन्तरता दिने हो भन्ने मनन् चिन्तन गर्न जरुरी छ।
लेखक : आशिष न्यौपाने



