काठमाडौँ : रसुवाको त्रिशूली नदीमा आएको भयावह बाढीमा लमजुङका रामकृष्ण मिजार र उनका साथीहरूले जसरी ज्यान जोगाए, त्यो कुनै चमत्कारभन्दा कम थिएन। ५ वर्षदेखि त्रिशूली–३ ए जलविद्युत् आयोजनामा कार्यरत बेसीशहर–११ चितिका रामकृष्ण त्यस दिन पावरहाउसको ६ सय मिटर भित्र सुरुङमा पानी तान्ने काममा खटिएका थिए।
बाहिर सुरक्षाकर्मीले बाढी आउँदा साइरन बजाएका रहेछन्, तर सुरुङको गहिराइमा काम गरिरहेका उनीहरूले त्यो आवाज सुन्नै पाएनन्। जब सुरक्षा टोली आफैं सुरुङभित्र दौडिएर बाढी आउँदैछ भन्ने खबर पुर्यायो, तब मात्र उनीहरू झस्किए।
"१०-१५ मिनेट मात्र ढिला भएको भए सुरुङभित्रै पानी भरिएर हाम्रा सास बन्द भइसक्थे," रामकृष्ण त्यो कहालीलाग्दो क्षण सम्झिन्छन्। खबर पाउनेबित्तिकै उनीहरू ज्यान जोगाउन बाहिरतिर दौडिए। बाहिर निस्कँदा बाढी क्याम्पको छेउमै आइसकेको थियो। उनीहरू पछाडिको भीरतिर उक्लिए र सुरक्षित ठाउँ खोज्दै आडैमा आधा घण्टासम्म लुकेर बसे।
त्यस दिन दुईवटा खोला—मेलुङ र त्रिशूलीको बीचमा उनीहरू थुनिएका थिए। पारिपट्टि रहेका कोरियन र चाइनिज क्याम्पहरू बाढीले सोत्तर पारिसकेको थियो, तर भाग्यवश उनीहरू बसेको क्याम्प भने १-२ मिटरले मात्र जोगिन पुग्यो।
उद्धारको पर्खाइ झन् कष्टकर थियो। दिनभरिको त्रासपछि साँझतिर हेलिकप्टर त आयो, तर घाइते भएका दुई साथीलाई मात्र लगेर बाँकीलाई उहीँ बस्न भनियो। फेरि बाढी आउला कि भन्ने डरले उनीहरू दुई रातसम्म पुरानो वर्कशपको टिनको छानोमुनि नसुती जागै बसे।
अन्ततः तेस्रो दिन हेलिकप्टरले उनीहरूलाई त्रिशूली झारिदियो र त्यहाँबाट कम्पनीको गाडीमार्फत काठमाडौं पुगे। "बाढीको ताण्डव त पछि साथीहरूले खिचेको भिडियो हेरेर मात्र थाहा पायौँ," उनी भन्छन्, "यदि त्यो दिन सुरक्षाकर्मी समयमै सुरुङभित्र नपुगेका भए आज हामी यो कथा सुनाउन जीवित हुने थिएनौँ।"