काठमाडौँ : सूर्य उदाउनुअघि नै धुलाबारी मोडमा पाहानी राजवंशी आफ्नो दैनिकी सुरु गर्छिन्। माटोको भाडामा पकाउने भाक्काको तयारी गर्न उनको बिहानको समय पुरै व्यस्त हुन्छ।
६० वर्षीया पाहानी मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भए पनि बिहानै ४ः३० बजे मेचीनगर–१० को धुलाबारी चोकमा पुगिसक्छिन्। पूर्वपश्चिम राजमार्गको छेउमै पकाएको उनको भाक्काको स्वाद लिन आउने ग्राहकहरूको भीड लाग्छ।
पाहानीलाई उनका श्रीमान् भद्रु राजवंशीले सहयोग गर्छन्। भाक्का, जुन सालको पातमा बेरेर गोलभेडा, लसुन र अकबरे खुसार्नी मिसाएको पिरो अचारसँग खाइन्छ, प्रति गोटा १० रुपैयाँमा बिक्री हुन्छ। भद्रु दम्पतीले दैनिक दुई हजारदेखि अढाई हजार रुपैयाँसम्मको भाक्का बिक्री गर्दै आएका छन्।
भाक्का खानका लागि बिहान हिंड्ने मर्निङ वाक गर्नेहरु, विद्यार्थी र गाडीका यात्रुहरु नियमित ग्राहक हुन्। अहिले धुलाबारी चोकमा पाहानीजस्तै आधा दर्जन जति भाक्का व्यवसायी छन्। उनीहरु प्रायः मङ्सिरदेखि मागसम्म मात्र यो व्यापार गर्छन्।
चिसो मौसम सुरु भएसँगै झापा र मोरङका धेरै चोक र बजारमा भाक्काको माग बढेको छ। पोषणयुक्त, स्वादिलो र अडिलो मानिने भाक्काले पूर्वी तराईका मानिसहरूको विहानको खाजाको रूपमा आफ्नो स्थान बनाएको छ।
ग्रामीण भेगका आदिवासी महिलाहरुले विहानै उठेर पूर्वपश्चिम राजमार्गका किनार, गाउँ र शहरका चोकहरूमा माटाको हण्डीमा पानी उमालेर भाक्का पकाएर बेच्ने परम्परा पछिल्लो समय थप व्यावसायिक भएको छ।
प्रारम्भमा राजवंशी समुदायका महिलाहरुले मात्रै बनाउने यो परिकार अहिले मेचे, धिमाल, ताजपुरिया र थारु समुदायले पनि बनाउन थालेका छन्। झापामा यस परिकारको महत्व बढ्दै जाँदा, पुस २९ गते भाक्का दिवस मनाउने परम्परा पछिल्ला आठ वर्षदेखि सुरु भएको छ।
धानको चामलबाट बनाइने भाक्का सानो आकारमा बाफमा पकाइन्छ। चिया र अचारसँग यसको स्वाद झन् बढ्छ। मेचीनगर वडा नं। ७ का वडाध्यक्ष प्रल्हादमणि ओलीका अनुसार भाक्का अब राजवंशी समुदायको मात्रै नभएर सबै समुदायको साझा परिकार बनिसकेको छ।



