काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालै ब्रिक्स शिखर सम्मेलनमा अमेरिकी डलरको विकल्प खोज्दै नयाँ अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आवश्यकता औंल्याएका छन्।
कजान सहरमा भएको यस सम्मेलनमा पुटिनले अमेरिकी डलरलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिनु गलत भएको भन्दै यसको सट्टामा स्वतन्त्र भुक्तानी संरचना स्थापना गर्न आह्वान गरेका हुन्।
पुटिनका अनुसार रुस र चीनबीच ९५ प्रतिशत व्यापार रुबल र युआनमा भइरहेको छ, जसले अमेरिकी डलरमाथिको निर्भरता घटाएको छ। उनले थपे कि रुसले पश्चिमी स्विफ्ट प्रणालीलाई बाइपास गर्न वैकल्पिक भुक्तानी प्रणाली विकासमा पनि काम गरिरहेको छ।
तर, यस नयाँ प्रणालीप्रति केही ब्रिक्स सदस्य राष्ट्रहरू, विशेषतः ब्राजिल र भारत, केही हदसम्म सचेत छन्। यी देशहरू चीन-समर्थक वा पश्चिम-विरोधी समूहमा बदलिन चाहँदैनन्, जसले ब्रिक्सलाई स्वतन्त्र र निरपेक्ष मञ्च बनाइराख्न चाहन्छन्।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सम्मेलनमा विश्वलाई मित्र र शत्रुमा बाँड्नुभन्दा पनि कमजोर राष्ट्रहरूको आवश्यकता ,रोजगारी, शिक्षा, स्वास्थ्य सेवा पूरा गर्नेमा जोड दिनुपर्ने बताए।
यस वर्ष ब्रिक्स विस्तारमा विशेष ध्यान दिइएको छ, जसमा क्युबा, बोलिभिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया, बेलारुस, टर्की, नाइजेरिया, युगान्डा, काजाकिस्तान र उजबेकिस्तानलाई समावेश गरिने अपेक्षा गरिएको छ।
युरोपियन काउन्सिल अफ फरेन रिलेशन्सकी विशेषज्ञ अगाथे डेमाराइसका अनुसार, अमेरिकी डलरको प्रभुत्वलाई तत्कालै चुनौती दिन कठिन हुनेछ, किनकि अन्तर्राष्ट्रिय व्यापार र विदेशी मुद्रा भण्डारमा डलरको प्रभावशाली उपस्थिति रहेको छ।
विश्वव्यापी व्यापारको ८० प्रतिशतभन्दा बढी कारोबार डलरमै हुन्छ भने केन्द्रीय बैंकहरूको करिब ६० प्रतिशत रिजर्भ पनि डलरमै रहेको छ।



