२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टिकटक नेपालमा दर्ता हुने प्रक्रिया सुरु

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.5K
    SHARES
  • टिकटक नेपालमा दर्ता हुने प्रक्रिया सुरु

    काठमाडौं : छोटा भिडियो साझा गर्न मिल्ने सामाजिक सञ्जाल टिकटकले नेपालमा दर्ता प्रक्रिया सुरु गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका २०८० अनुसार टिकटक अब दर्ता गरिने भएको हो।

    सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार टिकटकका प्रतिनिधिहरूले आइतबार मन्त्रालयमा उपस्थित भई दर्ता प्रक्रियाका लागि आवश्यक कागजात बुझाएका छन्।

    निर्देशिकाको तेस्रो बुँदामा सामाजिक सञ्जालका कम्पनीहरूले सञ्चार मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ। टिकटकले बुझाएका कागजातहरूको अध्ययन गरेर प्रक्रियाअनुसार दर्ता स्वीकृत गरी सूचीकरण गरिने प्रवक्ता ठाकुरले बताए।

    निर्देशिकाको छैटौं बुँदामा यसरी सूचीकरण हुने कम्पनीहरूले गुनासो व्यवस्थापनका लागि ‘पोइन्ट अफ कन्ट्रयाक्ट्र’को व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। दर्ता भएका र नेपालमा कार्यालय नरहेका सामाजिक सञ्जाल कम्पनीहरूले तीन महिनाभित्र कार्यालय खोल्नुपर्ने वा सम्पर्क व्यक्ति तोक्नुपर्ने छ।

    टिकटकको दर्ता प्रक्रियासँगै यसले निर्देशिका अनुसार नेपालमा गुनासो व्यवस्थापन एवं आवश्यक सम्पर्कका लागि कार्यालय खोल्ने वा सम्पर्क व्यक्ति तोक्ने अपेक्षा गरिएको छ। गत वर्षको मंसिरमा टिकटकमाथि नेपालमा प्रतिबन्ध लागेको थियो।

    तर करिब नौ महिनापछि गत भदौमा सो प्रतिबन्ध हटाइएको थियो। यस क्रममा कम्पनीले नेपालको नीति नियम मान्ने र सबै गुनासो सम्बोधन गर्न तयार रहेको बताएको थियो।

    नेपालमा सञ्चालनमा रहेका तर कार्यालय नरहेका कम्पनीहरूले ठूला करदाता कार्यालयमा दर्ता भएर डिजिटल सेवा कर तिर्दै आएका छन्। सोहीअनुसार पहिले नै दर्ता भएको टिकटक अब सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न बनेको निर्देशिका अनुसार सूचीकरण गर्न तयार भएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ