काठमाडौँ : ट्रम्पको समर्थनमा उत्रिएका इलन मस्कले अमेरिकामा आसन्न राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै एक अनोठो घोषणा गरेका छन्। उनले हरेक दिन एक मतदातालाई १० लाख डलर दिने योजना सार्वजनिक गरेका छन्। यो घोषणा उनले शनिबार पेन्सिलभेनियामा आयोजित एक कार्यक्रममा गरेका थिए।
रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको समर्थनमा खुलेरै उभिएका मस्कले यहाँ हस्ताक्षर गर्ने मतदाताहरूको बीचबाट हरेक दिन एक जनालाई १० लाख अमेरिकी डलर प्रदान गर्ने योजना बनाएर आफ्नो अभियानलाई थप सक्रिय बनाएका छन्।
मस्कले ट्रम्पको समर्थनमा 'अमेरिका प्याक' नामक पोलिटिकल एक्सन कमिटीको स्थापना गरेका छन्। यसका लागि पेन्सिलभेनियामा मतदाता दर्ताका लागि हस्ताक्षर अभियान सुरु गरेका छन्। शनिवार भएको कार्यक्रममा उनले पहिलो चेक १० लाख डलरको हस्तान्तरण पनि गरेका थिए।
उनका अनुसार मस्कले यस अभियानका लागि १ करोड ७० लाख डलर खर्च गर्ने योजना बनाएका छन्। अमेरिका प्याकको पेटिसनले पेन्सिलभेनियामा दर्ता भएका सबै मतदातालाई अमेरिकी संविधानको पहिलो र दोस्रो संशोधनको समर्थन गर्न प्रोत्साहित गर्ने छ।
महत्वपूर्ण कुरा यो हो कि पेटिसनमा हस्ताक्षर गर्न रिपब्लिकन हुनु अनिवार्य छैन। पेन्सिलभेनियामा मतदान गर्न दर्ता भएका कुनै पनि डेमोक्र्याट समर्थकले पनि यसमा सहभागी हुन सक्छन्। हालसम्म मस्कले अमेरिका प्याकका लागि ७ करोड ५० लाख डलर प्रदान गरिसकेका छन्। यो प्याक मुख्य चुनावी मैदानका रूपमा रहेका विभिन्न राज्यहरूमा ट्रम्पको समर्थनमा अभियान चलाइरहेको छ।



