काठमाडौं : नेपाली बजारमा कावासाकी ब्रान्डका बाइकहरू फेरि प्रवेश गर्न लागेको छ। विशाल ग्रुपको एक कम्पनीले नेपालका लागि आधिकारिक वितरकको रूपमा कार्य गर्नेछ।
कावासाकीका बाइकहरू केही समयअघि नेपाली बजारमा उपलब्ध थिए। तर भारतमा उत्पादन बन्द भएपछि यहाँका ग्राहकहरूले यो ब्रान्डबाट टाढा हुनु परेको थियो। अब विशाल ग्रुप आधिकारिक विक्रेता बन्न सफल भएको छ। यस सम्बन्धमा एक महिना पहिले नै निर्णय गरिएको थियो। स्रोतका अनुसार नेपालका लागि नयाँ बिजनेस हेड पनि नियुक्त भइसकेका छन्।
यद्यपि यसको औपचारिक जानकारी भने सार्वजनिक गरिएको छैन। तर नेपाली बजारमा कावासाकीका विभिन्न कम मूल्यका बाइकहरू, जस्तै डब्ल्यु १७५ स्ट्रिट र निन्जा ३०० उपलब्ध हुने अपेक्षा गरिएको छ।
डब्ल्यु १७५ स्ट्रिट: यो बाइक क्लासिक डिजाइन र आधुनिक इन्जिनियरिङको संगम हो। १७७ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन भएको यस बाइकमा अलोय ह्विल र ट्युबलेस टायर जस्ता विशेषताहरू समावेश छन्।
निन्जा ३००: यो सुपर बाइकमा एबीएस, स्लिपर क्लच र लाइटवेट च्यासिस जस्ता विशेषताहरू रहेका छन्। जसले प्रयोगकर्तालाई थ्रिलिङ एक्स्पेरियन्स प्रदान गर्नेछ।
भर्सिस–एक्स ३००: यो एड्भेन्चर टुरिङ बाइक पनि बजारमा उपलब्ध हुने अनुमान गरिएको छ।
नाडा अटो शोको समयभन्दा अघि नै यी बाइकहरू नेपाली बजारमा सार्वजनिक हुने सम्भावना रहेको छ।
विशाल ग्रुपले नेपाली बजारमा सुजुकी मोटरसाइकल, फक्सवागन, एमजी, वुलिङ, माज्दा, म्याक्सस, रेनो र जीडब्लुएम ब्रान्डका सवारी साधनको कारोबार गर्दै आइरहेको छ। साथै, कोबेल्कोका कन्स्ट्रक्सन इक्विपमेन्ट र एसआरएमका विद्युतीय भ्यानको पनि बिक्री-वितरण गरिरहेको छ। भिनफास्ट एक भियतनामी ब्रान्ड पनि विशाल ग्रुपले नेपालमा भित्र्याउने योजना बनाएको छ।



