काठमाडौँ : रुघा सामान्यतया एलर्जी र भाइरल संक्रमणका कारण लाग्छ। धुलो-धुँवा, चिसो वा जनावरजन्य एलर्जीले रुघा निम्त्याउँछ। रुघा निको पार्ने भन्दा पनि रोकथाम गर्ने उपायहरू महत्त्वपूर्ण हुन्छन्। केही घरेलु विधिहरू अपनाउँदा रुघाबाट सजिलै बच्न र उपचार गर्न सकिन्छ।
रुघा लाग्नबाट बच्ने उपायहरू
चिसो र तातो एकैचोटि प्रयोग नगर्ने: चिसो र तातो खानेकुरा वा वातावरणमा एकसाथ जाँदा रुघा लाग्ने सम्भावना बढ्छ। चिसो पानी पिएपछि तुरुन्तै तातो पानी नपिउनु राम्रो हुन्छ।
रुघा लागेका व्यक्तिबाट दूरी कायम गर्ने: रुघा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छ। त्यसैले रुघा लागेको व्यक्तिबाट टाढा रहनु आवश्यक छ।
अमिलो खानेकुरा कम गर्ने: निबुवा, कागती जस्ता अमिलो खानेकुराले भिटामिन सी दिए पनि अत्यधिक सेवनले कहिलेकाहीँ रुघा निम्त्याउन सक्छ।
नाकमा तेल हाल्ने: सुख्खा मौसममा ‘अणु’ वा ‘षड्बिन्दु’ तेल नाकमा राख्दा नाकको सुक्खापन हट्न सक्छ र एलर्जीबाट बच्न सकिन्छ।
प्राणायाम गर्ने: दैनिक प्राणायामले श्वासप्रश्वासलाई सन्तुलनमा राख्न मद्दत गर्छ। यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
रुघा निको पार्ने घरेलु उपायहरू
बेसार पानी पिउने: बेसारमा पाइने कर्क्युमिनले एलर्जी र भाइरल दुवै समस्यासँग लड्न मद्दत गर्छ। तातो दूध वा पानीमा एक चम्चा बेसार मिसाएर बिहान र बेलुका सेवन गर्नुपर्छ।
मरिच पानी पिउने: कालो मरिचको धूलोलाई तातो पानीमा उमालेर पिउँदा रुघा निको हुन्छ। यसमा पाइने पोषक तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन्।
मह र तातो पानी: महमा प्राकृतिक रोग प्रतिरोधात्मक गुण हुन्छ। तातो पानीमा मह मिसाएर पिउँदा रुघा र खोकीबाट राहत मिल्छ।
बाफ लिने: नाक टालिएको अवस्थामा बाफ लिनु फाइदाजनक हुन्छ। कफ जमेको भए बाफले नाक खोलेर सजिलो बनाउँछ।
यी विधिहरूले रुघाबाट राहत मिलाउन सहयोग गर्छन्।



