काठमाडौँ : ग्रान्ड प्रेरिमा जारी पिलो पहिलो टी–२० सिरिजमा अमेरिकाविरुद्ध नेपालले विजयी हासिल गरेको छ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो। अमेरिकाका शायन जहानगिरले ६० रन, आन्द्रेस गौसले ३० रन, मिलिन्ड कुमारले २२रन र जसदीप सिंहले १६ रन बनाएका थिए। बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले ३, करण केसी, रिजन ढकाल र गुल्शन झाले १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ४९ बनाएका थिए। पौडेल अर्धशतक बनाउनबाट एक रनले चुकेका छन्। यस्तै, दीपेन्द्र सिंह ऐरीले २८ रन, आसिफ शेखले २७ रन, अनिल साहले २७ रन, गुल्शन झाले ११ रन, कुशल भूर्तेलले १० रन र सोमपाल कामीले २ रन बनाएका थिए।
नेपालले अन्तिम दुई ओभरमा १४ रन जोड्दा ५ विकेट गुमायो। बलिङमा अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले समान २/२ विकेट लिएका थिए।
अब नेपाल र अमेरिकाले दोस्रो टी–२० आई आइतबार बिहान खेल्ने तालिका छ।



