काठमाडौँ : आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समय अनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ। क्यानडा भ्रमणका क्रममा नेपाल लगातार तीन खेलमा पराजित भएको छ र आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ।
नेपालले पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानसँग एक विकेटले र तेस्रो खेलमा पुनः क्यानडासँग ५ विकेटले हार स्वीकार गरेको थियो। यस ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ।
त्यसपछि, नेपालले क्यानडा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ। यस सिरिज सकेर नेपाल लिग २ का लागि अमेरिका जानेछ र त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ।



