काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले आज १० वर्षपछि आईसीसी ट्वान्टी-२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ। नेपालले मंगलबार (आज)को खेलमा नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ।
ट्वान्टी २० विश्वकपमा नेपालले १० वर्षपछि चुनौती प्रस्तुत गर्न लागेको हो। यसअघि नेपालले पछिल्लो पटक सन् २०१४ मा ट्वान्टी २० विश्वकप खेलेको थियो। नेपालले उक्त संस्करणमा समूह चरणको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध खेलेको थियो।
अमेरिकाको ड्यालसमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि सुरु हुनेछ। विश्वकपमा नेपाल र नेदरल्यान्ड्स पहिलो पटक भिड्न लागेका हुन्।
नेदरल्यान्ड्स ट्वान्टी २० विश्वकपमा नेपालको चौथो प्रतिद्वन्दीसमेत हो। यसअघि नेपालले सन् २०१४मा हङकङ, बंगलादेश र अफगानिस्तान विरुद्ध प्रतिस्पर्धा गरेको थियो।
नेपाल र नेदरल्यान्ड्सबीचको खेलअघि आज अन्य दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘सी’ का अफगानिस्तान र युगान्डाबीच प्रतिस्पर्धा हुनेछ। दुवै टिम पहिलो पटक आईसीसीबाट मान्यताप्राप्त क्रिकेटमा आमने-सामने हुन लागेका हुन्। यो खेल बिहान ६ः१५ बजेदेखि सुरु हुनेछ।
आजको दोस्रो खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ।



