काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।
वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि रोहित पौडेलले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ११२ रन बनाएका थिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २८ रन, कुशल भुर्तेलले १६ रन, कुशल मल्लले १६ रन तथा गुलशन झाले ९ रन र प्रतिश जि.सीले ५ रन बनाएका थिए।
बलिङमा वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र म्याथ्यु फर्डले समान २/२ विकेट तथा किमो पलले १ विकेट लिएका थिए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएका थियो।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४५ बलमा ७४ रन तथा एलिक एथानाजले २५ बलमा ४७ रन बनाएका थिए। यस्तै, केसी कार्टीले ३८ रन, आन्द्रे फ्लेचर १३ रन, र कादिम एलीनेले १४ रन बनाएका थिए।
बलिङमा नेपालका लागि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, कमलसिंह ऐरीले समान १/१ विकेट लिएका थिए।



