काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर)ले दिल्ली क्यापिटल्स (डीसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। जितसँगै केकेआर ३ खेलमा ३ जित सहित शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली भने ४ खेलमा १ जित सहित नवौं स्थानमा छ।
विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको थियो। केकेआरका लागि सुनिल नरिनले सर्वाधिक ८५ रन बनाएका थिए। यस्तै, अनकृष रघुवंशीले ५४ रन, आन्द्रे रसेलले ४१ रन र रिङ्कु सिंहले २६ रन बनाएका थिए।
बलिङमा दिल्लीका लागि एनरिक नोर्ट्जेले ३ विकेट लिएका थिए भने ईशान्त शर्माले २ विकेट तथा खलिल अहमद र मिचेल मार्शले समान १–१ विकेट लिएका थिए।
केकेआरले दिएको २७३ रनको विशाल लक्ष्य पछ्याएको दिल्ली १७.२ ओभर खेल्दै १६६ रनमै अलआउट भयो। दिल्लीका लागि कप्तान ऋषभ पन्तले ५५ रन र ट्रिस्टन स्टब्सले ५४ रन बनाएका थिए। यस्तै, ओपनर डेभिड वार्नरले १८ र पृथ्वी शले १० रन बनाएका थिए। त्यसबाहेकका आन्य ब्याट्स म्यानले दोहोरो अंक नै जोड्न सकेनन्।
बलिङमा केकेआरका लागि वैभव अरोराले र वरुण चक्रवर्थिले समान ३–३ विकेट, मिचेल स्टार्कले २ विकेट तथा आन्द्रे रसेल र सुनिल नरिनले समान १–१ विकेट लिएका थिए।



