असोज १२, काठमाडौं : दोलखामा थप तीन किलो सुनसहित एक जना पक्राउ परेका छन्। अस्ति बुधवार राति मात्रै दोलखाको सिङ्गटीबाट चार किलो सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि आज फेरि थप तीन किलो सुन बरामद भएको हो।
दोलखाको बिगु गाउँपालिका ३,जामुनेबाट प्रहरीले चीनबाट अवैध रुपमा ल्याएर लुकाएको थप ३ केजी सुन आज दिउँसो इलाका प्रहरी कार्यालय सिंगटीले बरामद गरेको हो।
चीनबाट तस्करी गरेर ल्याउँदै गरेको ३ किलो सुनसहित आज जामुनेमा केशर तामाङ पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले जनाएको छ। चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने प्रहरीको अनुमान छ।
स्रोतका अनुसार चीनको रोङजिया नाकाबाट ठूलो परिमाणमा सुन पैदलमार्गबाट भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ।
अहिलेसम्म तस्करले ल्याएको सात किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ। सुन तस्करीको आरोपमा अहिलेसम्म ५ जना एकै गाउँका पक्राउ परिसकेका छन्।
सुन तस्करमा संलग्न अन्य भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ। फरार रहेकाहरुसँग तस्करी गरी ल्याएको सुन हुनसक्ने अनुमानमा प्रहरीले खाजी गरिरहेको छ।



