काठमाडौं : घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बुधवार भएको दोस्रो खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो।
नेदरल्यान्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रनमात्र बनाउन सक्यो। नेपालका दीपेन्द्रसिंह ऐरीले ६३ रन बनाएका थिए। यस्तै, कप्तान रोहित पौडेलले ५०, आसिफ शेखले ३४ रन बनाएका थिए। नेदरल्यान्ड्सका रोल्फ भान डेर मेर्वे र सायब्रान्ड एङ्गेलब्रेच्टले समान २ विकेट लिएका थिए।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो। नेदरल्यान्ड्सका माइकल लेभिटले ५४, सायब्रान्ड एङ्गेलब्रेच्टले नट आउट ४९ रन बनाएका थिए। नेपालका करण केसी र कुशल मल्लले समान १ विकेट लिएका थिए। त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्।
नेपाल पहिलो खेलमा हिजो नामिबियासँग २० रनले पराजित भएको थियो।



